मन्थलीमा रामेछाप साँस्कृतिक कलाकार समाजको कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, पुष १७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको रौनक बढेको छ । राष्ट्रिय स्तरमा ख्यातिप्राप्त जिल्ला तथा छिमेकी जिल्लाका कलाकारहरुले भरिभराउ भएपछि मन्थलीको रौनक मात्रै हैन चहलपहल पनि बढेको छ ।
सदरमुकाम मन्थलीमा शनिबारबाट रामेछाप साँस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन सुरु भएको छ । सोही कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त जिल्ला तथा अन्य जिल्लाबाट सयौंको सङ्ख्यामा कलाकारहरु मन्थली आएका छन् भने कार्यक्रम हेर्नका गाउँगाउँबाट धेरै मानिसहरु आएका छन् ।
जसका कारण मन्थलीको रौनक मात्र बढेको छैन कोरोनाले सुस्ताएको होटल तथा अन्य व्यवसायको व्यापार पनि बढेको छ ।
कार्यक्रमका लागि शिवहरी पौडेल, सीता थापा, रोज मोक्तान, पार्वती कार्की, नवराज घोरासैनी, राजेन्द्रकुमार कार्की, विक्रमजङ्ग शाह, खेम सेन्चुरी, चाँदनी मोक्तान, विक्रान्त बस्नेत, सुनीता दुलाल, डिपी खनाल, रन्जिता गुरुङ लगायत सायौंको सङ्ख्यामा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु मन्थली आएको रामेछाप साँस्कृतिक कलाकार समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।
कार्यक्रममा जिल्लाको आठ वटै स्थानीय तहमा गठन भएको रामेछाप साँस्कृतिक कलाकार समाजको पालिका स्तरिय समितिको विभिन्न प्रस्तुती साथै ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहेको समाजका अध्यक्ष रामकुमार पौडेलले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमको महिलो दिन शनिबार औपचाकिर कार्यक्रम सहित कलाकारहरुको विभिन्न प्रस्तुती रहनेछ भने दोस्रो दिन आइतबार रामेछाप साँस्कृतिक कलाकार समाजको नयाँ नेतृत्व चयन गरिनेछ ।