रामेछाप । जिल्लाको दुर्गममा रहेको कास्थेम मावि भूजीले विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन लागेको छ । उमाकुण्ड गाउँपालिका–७ को भूजीमा रहेको सो विद्यालय उक्त वडाको एक मात्र माध्यमिक विद्यालय हो । १० कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा गत सालबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताउनुभयो । अहिले कक्षा ६ देखि ८ सम्म कम्प्युटर पढाइ हुने गरेको, यसलाई कक्षा १० सम्म लैजाने योजना रहेको छ प्रधानाध्यापक सुनुवारले भन्नुभयो । कूल तीन सय सात जना विद्यार्थी रहेको सो विद्यालयमा १३ वटा कम्प्युटर राखेर विद्यार्थीलाई अभ्यास समेत गराउन सुरु गरिएको छ ।
पर्याप्त कम्प्युटर नहुँदा अभ्यासमा समस्या भएकोले सहयोगी दाता खोजी रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा विद्यार्थी र अभिभावकको माग भएकोले गाउँमा नै प्राविधिक शिक्षा दिन सके विद्यार्थीले गाउँ छाड्ने परम्परा अन्त्य हुने भूजीका वडाध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो । यसको लागि सो विद्यालयमा प्राविधिक विषयका पढाई सुरु गर्न आफूहरूले प्रयत्न गरिरहेको वडा अध्यक्ष नेवारको भनाइ छ । ‘प्राविधिक विषमा कक्षा १२ सम्म पठन पाठन गर्ने सोच बनाएको र त्यसको लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
कास्थम माविमा कम्प्युटर शिक्षा
- प्रकाशित मिति: बुधबार, पुष ७ २०७८
- तामाकोशी