ठोसे फलाम खानी सञ्चालन गर्न उद्योगी तयार छन् : चन्द्रप्रसाद ढकाल

  • प्रकाशित मिति: शनिबार, पुष ३ २०७८
  • तामाकोशी

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विकास बजेटको १० प्रतिशत पनि खर्च गर्न नसक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा परेको बताउनुभएको छ । रामेछाप उद्योग वाणिज्य संघको १३ औ वार्षिक साधारण सभाको शनिबार मन्थलीमा उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । नयाँ व्यवसाय बढाउनको लागि बैङ्क लगानीमा तरलता समस्याको रुपमा रहदा बैंकहरु लगानी गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । ढकालले निजी क्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनको लागि राज्यले उचित ऐन कानुन बनाउनु पर्नेमा जोड दिनुभयो । लगानी मैत्री कानुन बने निजी क्षेत्र उत्पादनको क्षेत्रमा लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले रामेछापमा रहेको ठोसे फलाम खानी सञ्चालनमा नेपाली उद्योगी तयार रहेको बताउनुभयो । यसको लागि आवश्यक वातावरण बनाइदिन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले कृषि र स्थानीय उत्पादनको क्षेत्रमा आधारित साना उद्योगको क्षेत्रमा लगानी नगर्ने हो भने नेपालको आर्थिक विकास हुन नसक्ने बताउनुभयो । आयात व्यापार देशको हितमा नरहेको उहाँले प्रष्ट पार्नुभयो । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएका कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ नेपालका डीबी बस्नेत लगायतले पनि उद्योग वाणिज्यको विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।