रामेछाप । रामेछाप जिल्लामा यौनिक हिंसाका घटन नियत्रण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । लैंगिक हिँसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसमा आयोजना गरिएको रामेछापको सन् २०२१ को मानव अधिकार अवस्थाको समिक्षा गोष्ठीका सहभागीले जिल्लामा यौन हिंसाका घटनाले मानव अधिकारमा चुनौति दिएका बताउनुभयो । कार्यक्रमा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बढ्दो प्रविधिको विकाससँग मानव अधिकार उल्लङ्घनका घटनाका प्रकृति पनि फेरिएका बताउनुभयो । यौनिक हिंसाका घटना कम गर्नको लागि राज्यको संयन्त्रले मात्र काम गरेर सम्भव नहुने बताउँदै उहाँले यसको नियन्त्रणको लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था तथा हरेक नागरिकले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले मानव अधिकारको विषय गम्भीर विषय भएको बताउँदै कतिपय घटना सतही रुपमा आउने गरेको पनि बताउनुभयो । त्यसैले यस्ता विषयमा गहन अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले यौनिक हिंसाका घटना भयानक रुपमा बढ्दै गएका बताउनुभयो । उहाँले रामेछापमा ५ वर्षदेखि ६५ वर्षसम्मका महिला यस्ता घटनाबाट पीडित भएका बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले प्रहरीमा आएका घटनालाई हेर्दा यौनिक हिंसा र आत्माहत्याका घटना बढ्दै गएको देखिने बताउनुभयो । यसको नियन्त्रणको लागि सचेतना नै प्रमुख विषय रहेको उहाँले बताउनुभयो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले यस वर्ष संकलन गरिएका घटना मध्ये अधिकांश घटना यौन दुव्र्यवहार र बलात्कार कै भएको बताउनुभयो । रामेछाप बारका अध्यक्ष विचारसिंह तामाङले पीडितले कतिपय मुद्दा दर्ता गर्न विधि प्रक्रिया पुगेन भन्दै दुःख पाएको प्रति सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । मानव अधिकार संरक्षण सञ्जाल, इन्सेक लगायतका संस्थाको आयोजना तथा मन्थली नगरपालिकाको मूल आयोजनामा भएको सो कार्यक्रममा बोल्दै संञ्जालका संयोजक पाण्डव प्रसाईँले आत्माहत्याका घटना बढ्दै गएकाले त्यसलाई अब मानव अधिकारको कोणबाट विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
रामेछापमा यौनिक हिंसाका घटना नियन्त्रण हुन नसकेको भन्दै सरोकारवालाद्धारा चिन्ता व्यक्त
- प्रकाशित मिति: शुक्रबार, मंसिर २४ २०७८
- तामाकोशी