मुडे–चरिकोट सडकको ठेक्का तोडिँदै

  • प्रकाशित मिति: सोमबार, मंसिर २० २०७८
  • तामाकोशी

दोलखा । सरकारले मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोड्ने भएको छ । सो सडकको दुरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित संघर्ष समितिसँगको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने बताउनुभएको हो ।
खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । मुरे–चरिकोटको काम शंकर माली निर्माण सेवाले गरिरहेको थियो । तर, ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र भएको बताइएको छ । शंकरमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएका थिए । २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक ४ लाखका दरले हर्जनासमेत तिराएको छ । ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र भएको हो । सडक विस्तारको काम सकिए पनि कालोपत्रे नहुँदा चरिकोट जानका लागि रामेछापको मन्थली हुँदै यात्रा गर्नुपर्छ । यो सडकको दुरावस्थाविरुद्ध दोलखाका पत्रकारले पटक–पटक आन्दोलनसमेत गरिसकेका छन् । संघर्ष समिति र सचिवबीचको छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताहरू पनि सहभागी भएका थिए । संघर्ष समितिले सिंहदरबार र सडक विभागको कार्यालयमा धर्ना दिने बताएको छ । भारतीय एक्जिम बैंको एक अर्ब २४ करोड ऋण सहयोगमा सडक विस्तार भएको हो ।