रामेछाप । स्थानीय सरकार बनेपछि रामेछापमा एक सय ५० किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । नगरपालिका तथा गाउँपालिकाभित्रका टोल र बस्तीहरु सडको पहँुचमा पुगेपछि नयाँ सडक बनाउने भन्दा भएको सडकको स्तरउन्नतीमा स्थानी सरकार लागेका छन् । स्थानीय सरकार बनेयता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा ६५ किलोमिटर सडक कालोपत्रे भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताउनुभयो ।
यो अवधिमा रामेछाप नगरपालिकामा १७ किलोमिटर सडक कालोपत्र भएको छ । नगरपालिकाको वडा नं ८ बिटारदेखी नगरपालिकाको केन्द्र रामेछाप बजारसम्म १५ किलोमिटर र वडा नं ७ सुकाजोरमा दुई किलोमिटर सडक कालोपत्रे भएको रामेछाप नगरपालिकाका योजना अनुगमन तथा प्रशासन शाखाका होम बहादुर थापाले बताउनुभयो । गाउँपालिकाहरुमा खाँडादेवी गाउँपालिकामा सवै भन्दा बढी र लिखुतामाकोसी गाउँपालिकामा सवै भन्दा कम सडक कालोपत्रे भएको छ भने दोरम्बा गाउँपालिकामा अहिलेसम्म सडक कालोपत्रे हुँन सकेको छैन ।
सम्बन्धीत पालिकाका सूचना अधिकारीका अनुसार यो अवधिमा खाँडादेवी गाउँपालिकामा ३० किलोमिटर र लिखुतामाकोसी गाउँपालिका एक सय मिटर सडक कालोपत्र भएका छन् । गोकुलगङ्गा गाउँपालिकामा ३० किलोमिटर सडक कालोपत्रे भएका छन् । पालिकाभित्र सात किलोमिटर सडक कालोपत्रे गर्ने काम जारी रहेको गाउँपालिकाले जनाएको छ । सुनापति गाउँपालिकामा साढे तीन किलोमिटर सडक कालोपत्रे भएको गाउँपालिकाका सूचना अधिकारी सन्तोष चौलागाइले बताउनुभयो । नयाँ सडक निर्माण भन्दा भएको सडकको स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यलाई स्थानीय सरकारले प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताउनुभयो ।
स्थानीय सरकार बनेपछि रामेछापमा एक सय ५० किलोमिटर सडक कालोपत्रे
- प्रकाशित मिति: शुक्रबार, मंसिर १७ २०७८
- तामाकोशी