रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क प्रारम्भीक मिर्गौला परीक्षण गर्दैछ । मन्थली नगरपालिकाले मिर्गौला उपचार केन्द्र र मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्न लागिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।
सदरमुकामको नगरपालिका भएपनि पनि एउटा हस्पिटल छैन, अभावकै बीचमा पनि नगरपालिकाले स्वास्थ्य परीक्षणको कामलाई अघि बढाउन लागेको छ उहाँले भन्नुभयो । दुई महिना भित्र मन्थली नगरपालिकाका सबै नागरिकको परीक्षण योजना अनुसार नगरपालिकाका सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई समेत परिचालन गरिने उहाँले बताउनुभयो ।
मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले मन्थली नगरपालिकामा ५१ हजार जनसङ्ख्या रहेकोमा कम्तिमा पनि ३० हजार मानिसले मिर्गौला परीक्षण गर्ने अपेक्षा गरिएको बताउनुभयो । नगरपालिकाका ३१ स्थानमा क्याम्प राखेर परीक्षाण सञ्चालन गरिने उहाँले बताउनुभयो ।
मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले परीक्षणको लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको बताउनुभयो । स्वास्थ्यकर्मीले परीक्षणको काम गर्न उत्साह देखाएको छ, यसका लागि आवश्यक तयारी भैरहेको छ उहाँले भन्नुभयो ।
मन्थली नगरपालिकाले नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने
- प्रकाशित मिति: मंगलबार, मंसिर ७ २०७८
- तामाकोशी