मन्थली नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

  • प्रकाशित मिति: बिहिबार, मंसिर २ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले वडा स्तरमा किशोरीका लागि अभिमुखीकरण सहित विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउदै छ । नोभेम्बर २५ अर्थात् मङ्सिर ९ गते बिहान लैंगिक हिंसा विरुद्धको सचेतनमूलक र्याली गरी अभियानको आरम्भ गर्ने नगरपालिकाले तयारी गरेको छ । सोही दिन साँझ जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोकमा दीप प्रज्वलन गर्ने, मङ्सिर १० गते टोल सुधार समितिलाई लैंगिक हिंसा विरुद्धको सचेतना कक्षा सञ्चालन गरिने नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार मङ्सिर १२, १३ र २१ गते विभिन्न वडामा किशोरीका लागि लैंगिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ । मङ्सिर १५ गते एड्स विरुद्धको दिवस, १९ गते स्वास्थ्य स्वमसेवीका दिवस र २० गते पाठेघर परीक्षणको कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने भएको छ । त्यस्तै मङ्सिर १७ गते नगरपालिकासँगको सहकार्यमा अपाङ्ग सचेतन केन्द्रले अपाङ्ता दिवस आयोजना गर्ने भएको छ । मङ्सिर २३ गते पर्ने भ्रष्टाचार विरुद्धको दवस मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र मानव अधिकास संरक्षण सञ्जाल रामेछापसँगको सहकार्यमा हुने छ । मानव अधिकार दिवस तथा अभियानको समापन कार्यक्रम मङ्सिर २४ गते नगरपालिकाको सहकार्यमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले आयोजन गर्ने भएका छन् ।