बारको प्रदर्शन जटिल मोडमाः अध्यक्ष श्रेष्ठसहितका कानून व्यवसायी घाइते

  • प्रकाशित मिति: बिहिबार, मंसिर २ २०७८
  • तामाकोशी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीसँगको धकेलाधकेलमा दुई जना कानुन व्यवसायी घाइते भएका छन्। प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वार तर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो।

काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा बसेपछि प्रधानन्यायाधीश राणा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गर्दै आएका थिए। राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि बिहीबार प्रयास गरेका थिए। तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन।
त्यसक्रममा भएको धकेलाधकेलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे घाइते भएका छन्।



प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायी राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।