रामेछाप । नेपाली काँग्रेसको १४ औ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएको एक महिना भैसकेको छ । तर जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरुले भने पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् । मत गणनाको क्रममा पूरा मत नगनिएको तथा गुटको दबाबमा धाधली पूर्वक मत गनिएको भन्दै महाधिवेशन प्रतिनिधि खुल्ला तर्फका उम्मेद्वार झनक श्रेष्ठ, गजेन्द्र कार्की, डा. सुमन कर्मचार्य, जनजाती महिला तर्फकी उम्मेद्वार सुमित्रा मोक्तान, ज्योती सुनुवार, जिल्ला कार्य समिति उपसभापती पदका उम्मेद्वार वेदराज लामाले पुनः मत गन्नुपर्ने माग गर्नुभएको हो । गाउँपालिका तथा नगरपालिकाबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनिधिहरुमध्येबाट जम्मा एक हजार ३८८ मत खसेको भन्ने बाहिर आएको भएपनि कति मत खस्यो भन्ने विवरण निर्वाचन समितिले रेकर्ड नराखेको, महाधिवेशन प्रतिनिधिको ४९ वटा मतपत्र जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्यको मतपेटीकामा भेटिएको र उक्त मत नगनिएको भन्दै पुनः मत गणना गर्नुपर्ने माग राखेर काँग्रेसको १४ औँ महाभिवेशन निर्वाचन समितिको कार्यलय वी.पी नगर सानेपा ललितपुरलाई वोधार्थ बनायर जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयसँग माग गरिएको हो । त्यस्तै, उम्मेदवारलाई आचारसंहिताका बिषयमा जानकारी नगराईएको, मतगणना स्थलमा उम्मेदवारहरुलाई प्रवेश निषेध गरिएको, मतगणना समितिले उम्मेदवार तथा गुटको दबावमा मतगणना गरिएको कारण मतगणना धाँधलीपूर्वक हुँदा हार्ने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्था रहेकाले अधिवेशनमा भएका मतपेटीका केन्द्रीय कार्यालयमा झिकाई पुनः मतगणना गर्न माग गरिएको छ । काँग्रेसले एक महिनाअघि भएको जिल्ला अधिवेशनबाट पूर्णबहादुर तामाङ( कान्छाराम) को नेतृत्वमा जिल्ला नेतृत्व, २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र ३४ जना प्रदेश महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।
