रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाजको साधारणसभा तथा अधिवेशन पहिलो पटक जिल्ला सदरमुकाम मन्थलीमा हुने भएको छ । वि.स २०६६ सालमा स्थापना भएको रामेछाप साँस्कृतिक कलाकार समाजको १२ औं साधारणसभा तथा चौथो अधिवेशन आगामी मंसिर १० र ११ गते मन्थलीमा हुने भएको हो । आइतबार मन्थलीमा पत्रकारहरुसँग भेटघाट गर्दै रामेछाप साँस्कृतिक कलाकार समाजका पदाधिकारीहरुले साधारणसभा तथा अधिवेशन गर्ने बारे जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले साधारणसभा तथा अधिवेशनसँगै स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम पनि गरिने बताउनुभयो । जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम राखिएको अध्यक्ष पौडेलको भनाई छ । कलाकार समाजका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले रामेछापको शान, कला संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ कलाकार सामाजले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । २०६६ सालमा स्थापना भएको यो संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशन पहिलो पटक रामेछाप सदरमुकाम मन्थलीमा गर्ने तयारी गरिएकाले यसलाई सफल पार्न सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो । उहाँले मंसिर १० र ११ गते दुईदिन हुने कार्यक्रममा स्थानीय तथा अतिथि राष्ट्रिय स्तरका कलाकारको विभिन्न सांगितिक प्रस्तुति रहने र स्रष्टा सम्मान कार्यक्रम पनि रहने उहाँको भनाई छ । रामेछाप साँस्कृतिक कलाकार समाजका महासचिव युनिक विफा घिसिङले रामेछाप जिल्लामा जन्मिएर अहिले विभिन्न क्षेत्रमा रहेका कलाकारको हित र जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो । कलाकार समाजका निवर्तमान अध्यक्ष प्रकाश कटुवालले रामेछाप जिल्लामा जन्मिएका कलाकार र संस्थाको हितका लागि संस्थाले गर्ने सवै काममा आफ्नो पूर्ण सहयोग हुने बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका कोषाध्यक्ष गोविन्द गौतम सहित पालिका स्तरीय रामेछाप साँस्कृतिक कलाकार समाजका पदाधिकारीहरुको सहभागिता थियो ।
रामेछाप साँस्कृतिक कलाकार समाजको साधारणसभा तथा अधिवेशन मन्थलीमा हुने
- प्रकाशित मिति: आइतबार, असोज १७ २०७८
- तामाकोशी