रामेछापको प्रदेश ‘क’ र ‘ख’ मा काँग्रेसको नयाँ नेतृत्व : ३४ जना प्रदेश प्रतिनिधि चयन

  • प्रकाशित मिति: शनिबार, असोज १६ २०७८
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस प्रदेश क्षेत्रिय निर्वाचन अन्तर्गत रामेछापका प्रदेश ‘क’ र ‘ख’को अधिवेशन सम्पन्न भएको छ । बिहीबार भएको अधिवेशनबाट प्रदेश ‘क’ मा निरोज खड्का र प्रदेश ‘ख’ मा राजेश श्रेष्ठको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । खड्काले केशव महत र श्रेष्ठले रामकृष्ण ढुङ्गेललाई हराउँदै नेतृत्व हात पार्नुभएको हो । प्रदेश ‘क’ र ‘ख’को अधिवेशनबाट काँग्रेसले ३४ जना प्रदेशसभा अधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । खुलातर्फ ६ जना महिला, १४ जना पुरुष , खस आर्यबाट दुई जना महिला, दुई जना पुरुष, आदिवासी जनजाति तर्फबाट दुई जना महिला र चार जना पुरुष, दलित दुई जना र समावेशीबाट दुई जना प्रदेशसभा अधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस रामेछापले जनाएको छ । अधिवेशन पार्टीको आन्तरिक बिषय भएको हुनाले प्राप्त परिणामलाई सम्पूर्ण काँग्रेसीहरुको विजयको रुपमा ग्रहण गरेको प्रदेश ‘क’ का निर्वाचित सभापति खड्काले बताउनुभयो । काँग्रेसको जिल्ला अधिवशेन अन्तर्गत सभापति, पदाधिकारी र कार्यसमिति गरी ३९ पदको लागि ८० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले बताउनुभयो । सभापति पदका लागि वर्तमान सभापति लवश्री न्यौपाने, नेता कृष्ण महत र पूर्ण बहादुर तामाङ कान्छारामले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत लुइँटेलका अनुसार २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको लागि ६४ जनाको उम्मेदवारी परेको छ । शनिबार बिहान ८ः०० बजेबाट निर्वाचन सुरु गरी अपरान्ह् ४ः०० बजे सक्ने भनिए पनि बिहान १०ः०० बजेपछि मात्रै सुरु भएको छ ।