बैदेशिक रोजगार छात्रवृत्तिमा सिन्धुलीका ५९ बालबालिका सामेल

  • प्रकाशित मिति: बुधबार, असोज ६ २०७८
  • तामाकोशी

सिन्धुलीका ५९ जना बालबालिकाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । आर्थिक वर्ष ०७७र७८ मा जिल्लाका ५९ जना बालबालिकाले बैदेशिक रोजगार छात्रवृत्ति पाउने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख शान्तिराम पौडेलले बताउनुभयो । उहाँका अनुसार शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको खातामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ५ लाख २० हजार रुपैया छात्रावृत्ति खातामा पठाइसकेको छ ।

बैदेशिक रोजगार बोर्डले छात्रावृत्तिका लागि शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको खातामा पठाएको रकमको ढिला जानकारी दिएको कारण छात्रवृत्ति बाड्न ढिला भएको उहाँले बताउनुभयो । अहिले विद्यार्थीलाई धमाधम छात्रवृत्ति वितरण गरिरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहि असोज मसान्त भित्र छात्रवृत्ति बाडि सकिने छ । आर्थिक वर्ष ०७७र७८ मा आधारभूत तहका ४१ जना र माध्यामिक तहका १८ जना गरि ५९ जनाले वैदेशिक रोजगार छात्रावृत्ति पाउने भएको उहाँले बताउनुभयो । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रुपमा असक्त गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई उक्त छात्रवृत्ति प्रदान गरिन्छ । बैदेशिक रोजगार छात्रवृत्ति कक्षा १ देखि ८ कक्षा सम्म पढ्ने विद्यार्थीले वार्षिक रुपमा ८ हजार रुपैया र कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले १२ हजार रुपैया पाउने प्रमुख पौडेलले जानकारी दिनुभयो ।