आज ५७ औं राष्ट्रिय बाल दिवस : रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

  • प्रकाशित मिति: मंगलबार, भाद्र २९ २०७८
  • तामाकोशी

रामेछाप । आज ५७ औं राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाइएको छ । दिवसका अवसरमा जिल्लामा चेतनामूलक र्याली सहित विभिन्न कार्यक्रम भएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा मन्थली बाल क्लब सञ्जालको आयोजना, वातावरण संरक्षण परियोजनाको सहयोग, मन्थली नगरपालिका र वडा नं १ को समन्वयमा सचेतनामूलक र्याली तथा वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा पुरानागाउँ बालक्लब सञ्जालका अध्यक्ष महेश पुरीको अध्यक्षतामा वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ । कार्यक्रममा पुरानागाउँका श्री स्थानापती माध्यामिक विद्यालय, श्री पुण्य आधारभूत विद्यालय र नवदिपेश्वर आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुको सहभागिता रहेको थियो । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।