रामेछापमा १६९ मा पाँच जनाले रोजे एकीकृत समाजवादी

  • प्रकाशित मिति: बुधबार, भाद्र २३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा मन्थली नगरपालिका प्रमुख र गोकुलगङ्गा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सहित पाँच जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले एमाले त्यागेर नयाँ पार्टी बनाएसँगै जिल्लामा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरु को कता भन्ने बिषयले सबैको ध्यान तानेको थियो । जिल्लामा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, गोकलुलगङ्गा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष बलराम खड्का, मन्थली नगरपालिका वडा नं १२ गेलुका निर्वाचित वडा सदस्यहरु लिलाबहादुर बुढाथोकी, उमेश कार्की र लिखुतामाकोसी गाउँपालिका वडा नं ७ की वडा सदस्य भिमलक्ष्मी सार्कीले निर्वाचन कार्यालयमा सनाखत गरी समाजवादी रोजेकोे रामेछापका जिल्ला निर्वाचन अधिकारी शम्भुकुमार कटुवालले बताउनुभयो ।
एमाले अध्यक्ष केपीशर्मा ओलीले ठिक ढङ्गले पार्टी चलाउन नसकेको र दुई÷दुई पटक असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफु नेकपा एकिकृत समाजवादीमा लागेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले रामेछापमा एमाले एकढिक्का रहेको बताउनुभयो । २०७४ को स्थानीय तहको निर्वाचनबाट जिल्लाभर निर्वाचित भएका एक सय ६९ जना जनप्रतिनिधिमध्य ५ जनाले मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्, पार्टी र क्रान्ति प्रतिको प्रतिवद्धता र नेताहरुको प्रयासलाई सलाम छ उहाँले भन्नुभयो ।