रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ४ का राजेश कार्की छोराको उपचारका लागि सदरमुकाम मन्थली आउनुभयो । उहाँले वार्षिक तीन हजार पाँच सय रुपियाँ तिरेर परिवारको स्वास्थ्य बीमा गराउनु भएको छ । छोराको उपचार सोही स्वास्थ्य बीमा मार्फत गराउन कार्की मन्थली आउनुभएको हो । बिरामी छोरालाई लिएर घरबाट निष्कदा जस्तो अपेक्षा गर्नुभएको थियो सम्बन्धीत स्वास्थ्य संस्थामा पुग्दा आकाश पातलको फरक पाउनुभयो । हात फ्याक्चर भएपछि दुखाइको पीडाले छटपटाई रहेको छोरालाई लिएर कार्की मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुभयो ।
घण्टौँ लाइनमा बसेर छोरोको सामान्य स्वास्थ्य जाँच गराएर थप उपचारका लागि सिफारिस लिएर तामाकोसी अस्पताल पुग्नुभयो । त्यहापनि घण्टौँ लाइनमा बसेर ५० रुपियाँको टिकट काटेर फेरी सिफारीस माथिको सिफारीस लिएर डाक्टर माथिको डाक्टरलाई देखाउँनुपर्दा निकै सास्ती भयो । स्वास्थ्य बीमा मार्फत पाउँने सेवा लिने प्रक्रिया धेरै लामो र झन्झटिलो भयो, यसबाट हाम्रा लागि उपचारमा सहज हैन झनै सास्ती भयो उहाँले भन्नुभयो ।
जिल्लाको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका कर्माण तामाङ पनि ७५ वर्षकी आमाको नियमित औषध उपचारका लागि मन्थली आउनुभयो । उहाँ पनि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा घण्टौँ लाइन बसेर सिफारीस बोकेर तामाकोसी अस्पताल जानुभयो । सधैँ सिफारीसका आधारमा औषधी दिँदै आएको तामाकोसी अस्पतालले ५० रुपियाँको टिकट काटेपछि मात्रै औषधी तथा उपचार प्रक्रिया अगाडी बढाउँदा छक्क पर्नुभयो ।
जिल्लामा स्वास्थ्य बीमामा आवद्ध नागरिकले सेवा लिन धेरै सास्ती भोग्ने कार्की र तामाङ एक उदाहरणका पात्र मात्रै हुन् । अहिले उहाँहरु जस्तै जिल्लाबाट स्वास्थ्य बीमाको सेवा लिने दैनिक सयौँ नागरिक यस्तै सास्ती भोग्न बाध्य छन् ।
जिल्लामा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएयता ३७ हजार ९६९ जना नागरिक यो बार्यक्रममा आवद्ध भएका छन् । बीमित नागरिकले जिल्ला अस्पताल रामेछाप, प्राथमिक स्वास्थ्य केन्द्र मन्थली , गेलु प्राथमिक स्वास्थ्य केन्द्र र खिम्ती स्वास्थ्य केन्द्रको सिफारीसमा जिल्लाकै ठुलो सुविधा सम्पन्न अस्पताल तामाकोसी अस्पतालबाट औषध उपचार सेवा लिँदै आएका छन् ।
तामाकोसी अस्पताल सञ्चालक समितिका अध्यक्ष गोविन्द घिमिरेले बीमित नागरिकलाई सिफारीस गर्ने मान्यता पाएका स्वास्थ्य संस्थाको कारण बीमा बोर्डले अस्पतालको सन २०१९ देखीको एक करोड १२ लाख रुपियाँ भन्दा बढी पैसा नदिएको बताउनुभयो । अस्पतालमा ७० प्रतिशत बीमित नागरिक सेवा लिन आउँछन्, उनीहरुको सेवाका लागि थप कर्मचारी व्यवस्थापन गर्न सहयोग पुगोस् भनेर गत साउन १ गतेबाट ५० रुपियाँ लिने व्यवस्था गरिएकोमा सेवाग्राहीको गुनासो पछि शुल्क लिन बन्द गरिएको छ अध्यक्ष घिमिरेले भन्नुभयो ।
मन्थली नगरपालिकाका स्वास्थ्य संयोजक केवश फुयालले अधिकार पाएका स्वास्थ्य संस्थाबाट सिफारीस बोकेर गएका नागरिकबाट अस्पतालले शुल्क लिन नपाउने बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका नागरिकले मान्यता पाएका सम्बन्धीत सरकारी स्वास्थ्य संस्थाबाट सिफारीस लिँदा एक सय रुपियाँ र तामाकोसी अस्पतालमा इन्ट्री गराएर सेवा लियबापत दुईसय रुपियाँ गरी तीनसय रुपियाँ औषध उपचार बाहेकका रकम कटिने भएकाले अन्य शीर्षकमा रकम लिन पाइदैन उहाँले भन्नुभयो ।
स्वास्थ्य बिमा गरेको परिवारका पाँच सदस्यले प्रति सदस्य एक वर्षमा एक लाख रुपैँयासम्मको निःशुल्क औषध उपचार पाउँछन् । त्यस्तै सो परिवारका जेष्ठ नागरिकको एक लाख रुपैँयासम्मको निःशुल्क उपचार हुन्छ । पाँच जना सदस्य भएको परिवारले स्वास्थ्य बिमा वापत वार्षीक ३ हजार ५ सय रुपैँया तिर्नुपर्छ । सो भन्दा बढी परिवार संख्या भएमा थप प्रतिव्यक्ति ७ सय रुपैँया तिर्नुपर्ने व्यवस्था छ ।
रामेछापमा स्वास्थ्य बीमाको सेवा लिन नागरिकलाई सास्ती
- प्रकाशित मिति: शनिबार, भाद्र १९ २०७८
- तामाकोशी