रामेछाप । कृषि क्षेत्रकोे विकासका लागि दिर्घकालिन योजना बनाएर काम गरिरहेको दाबि गर्दै आएको जिल्लाको खाँडादेवी गाउँपालिकामा कृषि र पशुपन्छीका क्षेत्रमै प्रभावकारी काम नभएको गुनासो आएको छ । गाउँपालिकाले मंगलबार आयोजना गरेको गत आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले कृषि र पशुपन्छी क्षेत्रमा प्रभावकारी कार्यक्रम नभएकै कारण बजेट खर्च हुनु नसकेको गुनासो गरेका हुन् । खााडादेवी गाउँपालिका वडा नं ४ पकरवासका दनुवार माझीले गत वर्षमा गाउँपालिकाले कृषि र पशुपन्छीका क्षेत्रमा छुट्याएको बजेट किन कम खर्च भयो ? भनि प्रश्न गर्नुभयो ।
खाँडादेवी गाउँपालिका वडा नं ९ का गोविन्द भण्डारीले गाउँपालिकाको कार्यक्रममा युवालाई कम मात्रामा समेटिएको बताउनुभयो । वडा नं ६ माकादुमका बिएससी लामाले सबै वडामा स्वास्थ्य चौकी भवन पाँच वर्षभित्र बनाइ सक्ने भनिएको भए पनि केही वडामा अझै काम सुरु नहुनुको कारण के हो ? गाउँपालिकामा बारमबार किन विद्युत् सेवा अनियमित हुन्छ भनेर प्रश्न गर्नुभयोे । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले शुन्यबाट सुरु गरिएको गाउँपालिकाको कामले चार वर्षमा आमोल परिवर्तन गरेको दावि गर्नुभयो । गाउँपालिकामा आवश्यक संरचना निर्माण, जनशक्तिको तयारीका साथै भौतिक पूर्वाधार र आर्थिक सामाजिक विकासमा उल्लेख्य प्रगति भएको छ उहाँले भन्नुभयो ।
नागरिकबाट आएका गुनासा तथा सुझावलाई यो वर्षको कार्यक्रममा समेटिनेगरी काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा कूल बजेटको ८२ प्रतिशत रकम खर्च भएको छ । कार्यक्रममा सुशासनका औजारको प्रयोगलाई निरन्तरता दिने, गाउँपालिकाको बजेट कार्यक्रममा नागरिकको अधिक सहभागितामा समयमानै सम्पन्न गर्ने गरी काम गर्ने, उपभोक्ता समिति गठन गर्दा मापदण्डको पूर्ण पालना गर्ने र आवधिक योजनालाई आधार बनाएर कार्यक्रम सञ्चालन गरी त्यसकै आधारमा प्रगति प्रतिवेदन बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष पुष्करकुमार कार्की, ४ नं का धनबहादुर मानन्धर, ५ का तुलसीदास श्रेष्ठ र वडा नं ७ का असलसिंह तामाङले वडामा यस वर्ष गरिएका दुईवटा राम्रा काम र अब गर्नु पर्ने दुईवटा कामका बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा वागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले हरेक कार्यक्रममा हिजोको समीक्षा, आजको विष्लेषण र भोलिको योजना बनाएर अघि बढ्नुपर्ने जोड दिनुभएको थियो । कार्यक्रमको हुराडेक नेपाल दोलखाले सहजीकरण गरेको थियो ।
