काठमाडौं । वागमती प्रदेशभित्रका १३ जिल्लामा नेकपा एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए । नेकपा विभाजनसँगै शेरबहादुर तामाङ केपी ओली पक्षमा लागे पनि अन्य नेताहरु नेपाल पक्षमै थिए । नेपाल एमालेमै रहँदा सबैभन्दा बढी प्रभाव रहेको सिन्धुपाल्चोकबाट भने माधव नेपालको नयाँ दलमा जानेको संख्या न्यून देखिएको छ । स्थानीय र प्रदेश सरकारका सबै जनप्रतिनिधिहरुले अहिलेसम्म नेकपा एमालेमा नै रहेको बताएका छन् । संघीय संसदमा रहेका शेरबहादुर तामाङ यसअघि नै नेकपा एमालेमा छन् भने वागमती प्रदेशका सांसद सरेश नेपाल एमालेमै छन् । एमालेका दोस्रो पुस्ताका नेताहरु एमालेमा नै रहने भएपछि अर्का प्रदेश सांसद अरुण नेपाल पनि एमालेमा नै रहने भएका छन् । लामो समयदेखि एमालेलाई एकताबद्ध गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाल अब एमालेमा नै रहने भएका हुन् । राष्ट्रियसभाका सांसद सिंहबहादुर विक भने एकीकृत समाजवादीमा लागेका छन् । अर्का प्रदेश सांसद इन्द्रमाया गुरुङले चाहिँ कुन दल रोज्ने भन्ने स्थिति आएपछि मात्रै दल रोज्ने बताइन् । सिन्धुपाल्चोकका नेपाल पक्षका नेता कार्यकर्ताको भेला शुक्रबार काठमाडौंमा भएको छ । सोही भेलाले सबैको लाइन प्रष्ट पार्नेछ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटा सुरुदेखि नै एमालेमा भएपनि प्रमुख कृष्णगोपाल तामाङसँग भने सम्र्पक हुन सकेन ।
साभारः नेपाल प्रेस