रामेछापमा भदौ २२ गतेसम्म निषेधाज्ञा थपियो

  • प्रकाशित मिति: बिहिबार, भाद्र १० २०७८
  • तामाकोशी

रामेछाप । कोरोना भाइरस कोभिड–१९ बाट २३ जनाको मृत्यु भैसकेको रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई १२ दिन थप गरिएको छ । कोरोनाका बिरामी बढीरहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीको बैठकले भदौ १० गते विहीबार मध्यरात १२ः०० बजेदेखी लागु हुनेगरी खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, जिल्लाका भित्रका सवै शैक्षिक संस्थाहरुको पठनपाठन, अतिआवश्यक बाहेकका प्रशिक्षण, तालिम तथा गोष्ठिहरु,मेला, हाटबजार, पर्व, खेलकुद, स्वीमीङ पुल, सपिङ महल, मनोरञ्जन स्थल, फुडसल, हेल्थक्लब, जिम खाना, पुस्तकालय, पार्टी प्यालेस लगायत सञ्चालनमा रोक लगाएको छ ।
विवाह ब्रतबन्ध जस्ता संस्कारका हकमा बढीमा १५ जनासम्मलाई बढीमा दुईवटा सानो सवारी प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न दिने व्यवस्था गरिएको छ भने जिल्लामा नित्य पूजा बाहेका अन्य सवै किसिमका देवाली, चण्डी,सामुहिक पूजाआजा लगायतका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरुमा रोक लगाएको छ ।
सिट क्षमता भन्दा बढी नहुनेगरी जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प,होटल ,चिया खाजा ,रेष्टुरेन्ट ,निर्माण सामग्री विक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगायत पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना गरी बिहान ५ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी बैंक, सहकारी तथा वित्तिय संस्थाहरु, दुध तथा डेरीजन्य उत्पादन तथा विक्रिवितरण गर्ने पसल नियमित रुपमा सञ्चालन गर्ने र सवारी मर्मत वर्कसप बिहान ५ः०० बजेबाट साँझ ६ः०० बजेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । आठ वटा स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म २३ जनाको मृत्यु भैसकेको छ र अहिले ७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ