रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीमा रामेछापबाट एक जना पनि महिला नपरेपछि त्यसको विरोध भएको छ । जिल्लाबाट प्रेम बहादुर तामाङ, रत्न गौतम, चित्र बहादुर कार्की, कृष्णहरि अधिकारी, रामकृष्ण लामा, उद्धवप्रसाद कँडेरिया, झम्क कँडेल, ज्ञानकुमार योञ्जन, कुमार कार्की, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, पाल्देन तामाङ, टंक चौलागाई र कमल कँडेरिया गरी १३ जनाको नाम प्रदेश कमिटीमा समावेश भएको छ । यसमा एक जना पनि महिलाको नाम छैन । यो पटक नेकपा एमाले जिल्ला कमिटी रामेछापले बागमती प्रदेश कमिटीका लागि ३५ जनाको नाम सिफारिस गरेको थियो । शान्तिप्रसाद पौडेल, भोजराज कँडेरिया, तुलप्रसाद कँडेल र माया कार्की गरी चार जनाको नाम यसअघि नै बागमती प्रदेश कमिटीमा समावेश भैसकेको छ । पार्टीभित्र गरेका कामका आधारमा आफू सिफारिस ढुक्क रहेका जिल्लाका महिला नेतृहरु नाम नपरेपछि आक्रोशित छन् ।
नेकपा एमाले प्रतिनिधि परिषद सदस्य गीता कार्कीले पार्टीका काममा अग्रपंक्तिमा रहेर काम गरेका महिलाहरु कमिटी बनाउँदा नपर्नुमा जिल्ला कमिटी र इन्चार्ज जिम्मेवार हुनुपर्ने बताउनुभयो । अहिलेको २१ औं शताब्दीमा पनि पुष्पलालको जिल्ला रामेछापमा नेकपा एमालेभित्र महिला प्रतिको दृष्ट्रिकोण यतिसम्मको संकुचित हुनु हाम्रा लागि दुर्भाग्य हो, मेरा लागि पद ठुलो होइत तर संविधानले दिएको हक अधिकारका लागि कसैसँग कुनै सम्झौता हुन्न उहाँले भन्नुभयो । जिल्लाबाट धेरै जनाको नाम सिफारिस गरिएको तर, निर्णय प्रदेश कमिटीले गर्ने भएकाले यसमा आफूहरुको हात नरहेको नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो । जिल्लाबाट सिफारिस गर्दा महिलाको पनि नाम पठाएकै थियौँ, निर्णय गर्ने त प्रदेश कमिटीले हो, माथिल्लो कमिटीले गर्ने निर्णयमा हामीले के भन्न सक्छौँ र ? प्रदेशका सवै जिल्लालाई मिलाउँदा यस्तो भएको हुनसक्छ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
