परमादेशको वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन : मुख्यमन्त्री पौडेल

  • प्रकाशित मिति: बुधबार, साउन २० २०७८
  • तामाकोशी

रामेछाप । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले परमादेशबाट बनेको वर्तमान सरकारले जनताको हितमा काम गर्न नसक्ने बताउनुभएको छ । वागमती प्रदेश सरकारद्धारा रामेछापमा निर्माण सम्पन्न भएको सित्खा ,गोगनपानी,धूलेबेसी,भदौरे,भोटनागि पक्की सडकखण्डको बुधबार उद्ध्घाटन गर्नुहुदै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अहिलेको सरकार जनादेशबाट नभै परमादेशबाट बनेकाले यो सरकारले जनतको हित र उपलब्धी मूलक काम गर्नै नसक्ने मुख्यमन्त्री पौडेलले ठोकुवा गर्नुभयो । अहिलेको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने जस्ता जनताको हित विपरीत निर्णय गरिसकेको छ, सरकारको यो निर्णयले देशभरका भूमीहीनको आशा निराशामा परिणत भएको छ, यो सरकारले गर्ने अन्य काम पनि जनतालाई निराश पार्ने नै हुन्छ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।



मुख्यमन्त्री पौडेलले वागमती प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनाताको हितका लागि द्रुत गतिमा काम गरिरहेको बताउनुभयो । कोरोना भाइरस कोभिड–१९ महामारी र ठेकेदारहरुको बदमासीका बिचमा पनि वागमती प्रदेश सरकारले धेरै राम्रा काम गरेको छ उहाँले भन्नुभयो । कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले नेकपा एमाले विना मुलुकमा विकास सम्भव नरहेको बताउनुभयो । एमाले नेतृत्वको सरकारले देशमा द्रुत गतिमा विकासको लहर नै चलायो, विकास, समृद्धि, परिवर्तन लागि एमालेको विकल्प छैन मन्त्री ढुङ्गेलले भन्नुभयो । उहाँले रामेछाप जिल्लामा वागमती प्रदेश सरकारले अहिलेसम्म एक सय ५० किलोमिटर सडक कालोपत्र गरिसकेको र अझै एक सय ५० किलोमिटर सकड कालोपत्रको काम पनि यही सरकारले सम्पन्न गर्ने बताउनुभयो ।

वागमती प्रदेश सरकारद्धारा जिल्लाको विभिन्न स्थानमा निर्माण सम्पन्न भएका १५ वटा सडकहरुको यही साउन २१ गते विहीबार एकसाथ उद्घाटन गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेल रामेछाप आउनुभएको हो ।