रामेछाप । जिल्लाका ४३ हजार ८५१ जना नागरिकले कारोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी दुई नगरपालिका र छ गाउँपालिकाका ४३ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
जिल्लामा उपलब्ध खोपको आधारमा सवै स्थानीय तहमा प्रभावकारी रुपमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । हालसम्म जिल्लाका १८ हजार ८८९ जनाले कोभिशिल्ड खोप लगाएकोमा दुई हजार ६४४ जनाले दोस्रो डोज, १२ हजार ७३ जनाले भेरोसेल खोप लगाएकोमा १९ सय ३५ जनाले दोस्रो डोज लगाएका छन् उहाँले भन्नुभयो । उहाँका अनुसार ८ हजार ८३ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् ।
जनस्वास्थ्य अधिकृत थापाले स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस विरुद्धको थप खोपको माग गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । दुई हजार ८०७ जनामा कोरोना सङ्क्रमण भएकोमा हालसम्म दुई हजार ५२३ जना सङ्क्रमणमुक्त भैसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २६२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
अहिले २२६ जना सङ्क्रमित होम आइसोलेसनमा र ३४ जना संस्थागत आइसोलेसनमा बसेका छन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखेर जिल्लाको रामेछाप नगरपालिकामा ३० वेड, सुनापति गाउँपालिकामा २७ वेड र मन्थली नगरपालिकामा तीन वेड क्वारेन्टाइन निर्माण गरिएको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ । जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि जिल्लाभर एक सय ६८ वेड आइसोलेसन बनाइएको छ ।
रामेछापमा ४३ हजार ८५१ जनाले कोरोना विरुद्धको खोप लगाए
- प्रकाशित मिति: बुधबार, साउन २० २०७८
- तामाकोशी