रामेछापमा गुणस्तरहीन बन्दै भूकम्पले भत्कीएका स्वास्थ्य चौकी भवन

  • प्रकाशित मिति: शनिबार, साउन १६ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा २०७२ साल वैशाख १२,१३ र २९ गते आएको भूकम्पले क्षति गरेको १९ वटा स्वास्थ्य चौकीको धमाधम पुनर्निमाण भैरहेको छ । भारत सरकारको सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थली रामेछाप मार्फत गत वैशाख ८ गते ठेक्का सम्झौता गरी स्वास्थ्य चौकीहरुको धमाधम पुनर्निर्माण भैरहेको छ । तर स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्दा निर्माण व्यवसायीले गुणस्तरहनि काम गरीरहेको गुनासो आएको छ ।
जिल्लाको मन्थली नगरपालिका वडा नं ८ स्थित चिसापानी स्वास्थ्य चौकीको भवन निर्माणको काम गुणस्तर नभएको स्थानीय भुवन कुमार श्रेष्ठले बताउनुभयो । नक्सामा हात्तीपाइलेमा २० सेन्टीको प्याड बनाउनुपर्ने उल्लेख छ, तर ठेकेदारले १० सेन्टीको प्याड बनाएको छ, पिल्लर ब्याण्डीङ, सोलिङ गुणस्तर छैन, फर्माको प्रयोग गरिएको छैन र कङ्क्रिट मेशिन, भायोबेटर,प्लाइउड तथा मिक्चर बिना काम गरिएको छ उहाँले भन्नुभयो । भवन निर्माण नक्सा र प्राविधिकको सल्लाह विपरीत निर्माण व्यवसायीले कसले के गर्छर भन्ने हेतुले मनलाग्दो काम गरीरहको अर्का स्थानीय कृष्ण आछामीले बताउनुभयो । भवनको माथिल्लो पट्टी लगाइएको वाल जमिनभन्दा माथी लगाइको छ, भवनमा प्रगोग भैरहेको गिट्टी,बालुवा र ढुङ्गा पनि गुणस्तरहीन प्रगोग गरिएको छ उहाँले भन्नुभयो ।
गुणस्तरहीन काम हुँदा पनि जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थलीका प्राविधिकले बेवास्ता गरेको मन्थली नगरपालिका वडा नं ८ चिसापानीका वडाध्यक्ष राजकुमा श्रेष्ठले बताउनुभयो । स्वास्थ्य चौकी पुनर्निर्माण गर्दा काम गुणस्तर नभएको प्राविधिक, जनप्रतिनिधि लगाएत सरोकारवाला निकायले ठहर गरी ६ बुँद्दे निर्देशन दिएको छ, तर निर्माण व्यवसायीले निर्देशन मानिरहेको छैन वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । भवन निर्माणको सुरुमा केही कमजोरी भएको स्वीकार गर्दै अहिले गुणस्तरीय काम भैरहेको निर्माण व्यवसायी विकाश राइले बताउनुभयो । भवन निर्माणको निरीक्षण गर्दा नक्सामा भएको भन्दा फरक पाइकाले सुधार लागि आवश्यक निर्देशन दिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थलीका प्राविधिक सुरेश कुमार थापाले बताउनुभयो ।
ढलान गर्नु पूर्व कङ्क्रिट मेशिन, भायोबेटर मेशिन ,प्लाइउड तथा मिक्चर ल्याउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ, बिग्रीएको कामलाई सुधार गरी अब गुणस्तरीय काम गराउँन प्रतिवद्ध छौँ उहाँले भन्नुभयो । भारत सरकारको सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थली मार्फत स्काई जे.बि विबस इन्टरनेशनल प्रालिले एक करोड ८७ लाख रुपियाँ भन्दा बढीमा ठेक्का सम्झौता गरी आगामी १५ महिनामा काम सक्नेगरी गत असार अन्तिमबाट चिसापानी स्वास्थ्य चौकी पुनर्निर्माणको काम सुरु गरेको हो ।