किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ

  • प्रकाशित मिति: बुधबार, असार ३० २०७८
  • तामाकोशी

रामेछाप । शैलुङ्ग लगायत रामेछाप जिल्लाका माथिल्लो भेगका किसान अहिले निकै व्यस्त छन् । लेकाली भेगका किसान अहिले आलु खन्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । रामेछापको दोरम्बा गाउँपालिकाको शैलुङ्ग आसपासको गौश्वारा, डडुवा, दोरम्बा क्षेत्रका किसानको मुख्य उत्पादन नै आलु हो । त्यस्तै उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर लगायतका क्षेत्रमा पनि व्यवसायिक रुपमा आलु खेती हुने गर्दछ । गोकुलगंगाको चुचुरे, ठोसे, रस्नालु लगायतका क्षेत्रका किसानको पनि मुख्य उत्पादन आलु नै हो । केही वर्ष यता रामेछाप र दोलखाको शैलुङ्ग क्षेत्रमा उत्पादन हुने आलु शैलुङ्गको आलुको नामले बजारमा पुग्न लागेको छ । शैलुङ्गको आलु स्वदिलो र पौष्टिक भएको कारण बजारमा यसको माग बढेको छ । विगतमा शैलुङ्गको आलुसँग मिसाएर अन्यत्रको आलु बिक्री गर्ने गरेका पाइएपछि यस वर्षबाट शैलुङ्गको आलु आफ्नै ब्राण्डमा बजारमा आउने भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाले आलु प्याक गर्ने बोरा खरिद गरी कृषकलाई वितरण गरेको छ । अब शैलुङ्गको आलु आफ्नो लोगोको बोरामा बजारमा पुग्ने भएको छ । जसले गर्दा उपभोक्ता नझुक्किने दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभयो । शैलुङ्ग क्षेत्रमा आलु खेती प्रवर्धनको लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम समेत सुरु गरेको छ । अब शैलुङ्गमा आलुको बिउ उत्पादन तथा अनुसन्धान हुने भएको छ । जसको लागि आवश्यक पूर्वाधार निर्माण गरी काम सुरु भइसकेको छ । यसैगरी शैलुङ्गका किसानले उत्पादन गरेको आलु संकलन र भण्डारणको लागि आलु भण्डारण केन्द्र समेत स्थापना भएको छ । आलु भण्डारण केन्द्रको भवनको निर्माण भर्खरै सम्पन्न भएको हो । यसले कृषकले उत्पादन गरेको आलु भण्डारण गरी बजारसम्म पुर्याउन सहज भएको छ । विगतमा आलुको खासै भाउ नपाएका शैलुङ्गका किसानले गतवर्ष आलुको राम्रो मूल्य पाएका थिए । गतवर्ष किसानले प्रतिधार्नी १ सय ५० देखि २ सय रुपैँयासम्ममा आलु बिक्री गरेका थिए । यस वर्ष पनि गतवर्षको जस्तै भाउ आउने स्थानीय किसान दावासङ्वु सेर्पाले बताउनुभयो । शैलुङ्गको आलुको स्वाद थाहा पाएका उपभोक्ताले त्यहाँको आलु खोजी खोजी किन्ने गरेको उहाँले बताउनुभयो । त्यसैले पनि बजारमा शैलुङ्गको आलुको राम्रो भाउ भएको सेर्पाको भनाइ छ ।