रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न. ३ मा कोरोना विरुद्धको खोपको दुरुपयोग भएको आरोप लागेको छ । नेकपा एमाले मन्थली नगरपालिका वडा न. ३ वडा कमिटीले आइतबार प्रेस विज्ञप्ति जारी गदैँ वडाले कोरोना विरुद्धको खोप दुरुपयोग गरेको आरोप लगाएको हो । वडा कमिटीका अध्यक्ष कृष्ण गोपाल थापाले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा सरकारले तोकेको भन्दा बाहिर गएर पहुँचका आधरमा कोरोनाको खोप लगाएको आरोप लगाइएको छ । जारी विज्ञप्तिमा वडाका जनप्रतिनिधिका आफन्त, स्वास्थ्यकर्मीका आफन्त र केही नेताका आफन्तहरूलाई खोप लगाइएको भन्दै आपत्ति प्रकट गरिएको छ । खोप जुन समुदाय र बर्गले पाउनु पर्ने हो उनीहरूले नपाएको विज्ञप्तिमा उल्लेख छ । “खोपको दुरुपयोग बन्द गर्न माग गदैँ यस घटनाको तत्कालै छानबिन गरी दोषीहरूलाई कारबाही गर्न एमाले वडा कमिटीले सरोकारवाला निकायसँग माग गरेको छ । यता मन्थली नगरपालिका स्वास्थ्य शाखाले कोरोना विरुद्धको खोप दुरुपयोग भएको भन्ने बिषयमा छानबिन भैरहेको जनाएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखाका संयोजक केशव फुयालले खोप दुरुपयोग भएको भन्ने बिषयमा छानबिन भैरहेको बताउनुभयो । वडामा कोरोना खोप लगाएको बिवरण सम्बन्धीत स्वास्थ्य संस्थाले स्वास्थ्य शाखामा पेश गरेको छ , बिवरण हेर्दा तोकिएको व्यक्ति र उमेर समुहलाइ नै खोप लगाएको देखिन्छ, खोप दुरुपयोगबारे फिल्डमै गएर आवश्यक छानबिन गर्ने तयारी भैरहेको छ संयोजक फुयालले भन्नुभयो ।
मन्थली नगरपालिका वडा नं. ३ मा कोरोना विरुद्धको खोपको दुरुपयोग
- प्रकाशित मिति: सोमबार, असार २८ २०७८
- तामाकोशी