निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण : दलित घर परिवारलाई खाद्य सामाग्री

  • प्रकाशित मिति: शुक्रबार, असार २५ २०७८
  • तामाकोशी

रामेछाप,। रामेछापको मन्थली नगरपालिका वडा नं ११ र १२ का नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको छ । स्थानीय युवा सिताराम लोहारको पहलमा शान्ति सेवा गृह एण्ड क्लीनिक तिलगंगा काठमाडौंको सहयोगमा दुई वडाका एक सय ३५ जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी प्रदान गरिएको हो । डा. शङ्कर फुयाल नेतृत्वको टोलीले हाडजोर्नी, आँखाको समस्या, छाला सम्बन्धी समस्या, सुगर, प्रेसर,ग्याष्ट्रिक लगाएतको परीक्षण गरी निःशुल्क औषधी प्रदान गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् स्थानीय युवा सिताराम लोहारले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकालाई जुकाको औषधी , प्राथमिक स्वास्थ्य कन्द्र गेलु र सहरी स्वास्थ्य केन्द्रलाई औषधी सहयोग र दुई वडाका ६६ जना दलित समुदायलाई खाद्यान्नका सामाग्री पनि प्रदान गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ सँग मुलुक लडिरहेको यो अवस्थालाई ध्यानमा राखेर शान्ति सेवा गृह एण्ड क्लीनिक तिलगंगा काठमाडौंको सहयोगमा ग्रामिण भेगका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र खाद्यान्नका सामाग्री प्रदान गरिएको स्थानीय यूवा लोहारले बताउनुभयो ।