मन्थली नगरपालिकाले आधारभूत तहका सबै बालबालिकालाई विद्यालय भित्र ल्याउने

  • प्रकाशित मिति: बिहिबार, असार १७ २०७८
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आधारभूत तहमा अध्ययन गर्ने सबै बालबालिकालाई विद्यालय भित्र ल्याउने तयारी गरेको छ । शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा बुधबार मन्थलीमा भएको सार्वजनिक सुनुवाइमा नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाका आधारभूत तहमा पढ्ने सबै उमेर समूहका विद्यार्थीलाई विद्यालय भित्र ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मानव अधिकार संरक्षण सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराडेक नेपाल, हुसोक रामेछाप, दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मन्थलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सबै बाल विकास केन्द्रका सहयोगी र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक पुर्याई पठन पाठनलाई थप प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो । खाद्य सुरक्षाको लागि नगरपालिका भित्र मकै, धान र गहुँको बिऊ उत्पादनलाई प्रोत्साहित गर्ने तथा एक घर एक करेसाबारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी पशुपालक किसानलाई दुध उत्पादनमा दिएको अनुदानलाई आउने वर्ष पनि निरन्तरता दिने गरी बजेट तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकाको यस वर्षको कोभिडमा भएको खर्चको विवरण एक हप्ता भित्र वेवसाइडमा सार्वजनिक गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई आउने वर्षबाट १५ बेडको अस्पताल बनाइने बताउनुभयो । त्यस्तै सरकारले निःशुल्क उपलब्ध गराउने औषधी वर्ष भरि नै नगरपालिकाका स्वास्थ्य संस्थामा अभाव हुन नदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने, कोभिड विरुद्धको खोप ल्याउन थप पहल गर्नुपर्ने, विद्यालयले भर्ना शुःल्क लिइरहेको पाइएकोले त्यसलाई रोक्न पहल गर्नुपर्ने, विद्यार्थी भर्ना प्रभावकारी नभएकोले त्यसमा ध्यान दिनुपर्ने, वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन कडाइ गर्नु पर्ने, मन्थली नगरपालिका बाहिरबाट दुध बिक्रीको लागि ल्याउने किसानलाई पनि अनुदान दिनु पर्ने सुझाव दिनुभएको थियो ।