रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ६३ करोड १९ लाख रुपैँयाको बजेट ल्याएको छ । बिहीबारको नगरसभा बैठकमा नगरपालिका उपप्रमुख सृजना खड्काले बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख नरबहादुर थापा मगरको अध्यक्षतामा भएको नगरसभामा खड्काले चालु तर्फ ५७ प्रतिशत र पूँजीगत तर्फ ४३ प्रतिशत बजेट विनियोजन भएको जानकारी दिनुभयो । नगरपालिकाले चालु तर्फ ३५ करोड ८० लाख ९८ हजार रुपैँया विनियोजन गरेको छ । त्यस्तै पूँजीगत तर्फ २७ करोड ३८ लाख ४३ हजार रुपैँया छुट्याइएको छ । महामारी नियन्त्रण तथा प्रकोप व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा राखि नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रवाह गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी विगत वर्षदेखि संचालनमा रहेका क्रमागत योजनालाई प्राथमिकतामा राखिएको छ । नगर गौरवका योजनालाई निरन्तरता दिइने भएको छ । पर्यटकीय प्रवर्धनकालागि भालुखोप भ्यू टावरको निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ । खेलकुद प्रवर्धनकालागि निर्माण हुँदैगरेको कवर्ड हलको निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ । कृषि तथा पशुपन्छी विकासका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । महिला तथा यूवाहरुलाई उद्यमी बनाई स्वरोजगार उन्मुख कार्यक्रम गर्ने बजेट तथा कार्यक्रममा उल्लेख छ ।
रामेछाप नगरपालिकाको ६३ करोड १९ लाखको बजेट
- प्रकाशित मिति: शुक्रबार, असार ११ २०७८
- तामाकोशी