आगामी वर्षका लागि मन्थली नगरपालिकाको एक अर्ब सात करोड ८५ लाख बढी बजेट

  • प्रकाशित मिति: शुक्रबार, असार ११ २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि एक अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ रुपैँया बजेट ल्याएको छ । बिहीबार नगरसभापछि आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रमेशकुमार बस्नेतले सो कुराको जानकारी दिनुभएको हो । बस्नेतका अनुसार सो बजेट मध्ये चालु तर्फ १० करोड ६६ लाख ४ हजार रुपैँया रहेको छ । जो कुल बजेटका १९ दशमलव ८८ प्रतिशत हो । त्यस्तै सशर्तको चालु तर्फ ५७ करोड ९१ लाख ६४ हजार अर्थात् ५३ दशमलव ७ प्रतिशत रकम विनियोजन गरिएको छ । यसैगरी सशर्त÷निशर्त दुबैबाट पूँजीगत कार्यक्रमको लागि ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ रुपैँया विनियोजन गरिएको छ । सो विनियोजनमा संघ र प्रदेश सरकारबाट आउने सशर्त कार्यक्रमको वजेट र वडा सिलिङबाट ती क्षेत्रमा विनियोजन हुने बजेट रकमलाई समावेश नगरिएको उहाँले बताउनुभयो । नगरपालिकाले सबैभन्दा बढी रकम पूर्वाधार विकासमा छुट्याएको छ । पूर्वाधार विकासमा १२ करोड ७० लाख रुपैँया छुट्याइएको छ । जुन कूल बजेटको ३७ दशमलव ८८ प्रतिशत हो । यसैगरी १४ वटा वडा कार्यालयको लागि ९ करोड रुपैँया छुट्याइएको छ । जुन कूल बजेटको २६ दशमलव ८४ प्रतिशत हो । सामाजिक क्षेत्रमा कूल बजेटको २० दशमलव ४ प्रतिशत अर्थात् ६ करोड ७२ लाख रुपैँया छुट्याइएको छ । आर्थिक विकासको क्षेत्रमा ३ करोड ७० लाख अर्थात् ११ दशमलव तीन प्रतिशत बजेट छुट्याइएको छ । सुशासन तथा संस्थागत विकासमा ६६ लाख अर्थात् एक दशमलव ९७ प्रतिशत र विपत् तथा वातावरण संरक्षणको लागि ५० लाख अर्थात् एक दशमलव ४९ प्रतिशत बजेट विनियोजन भएको छ । कानुन तथा न्यायको लागि शून्य दशमलव ७५ प्रतिशत बजेट छुट्याइएको छ । आर्थिक विकास अन्तर्गत नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेको छ । जसको लागि १ करोड ४० लाख रुपैँया विनियोजन भएको छ । कृषि औजारमा अनुदान दिइने भएको छ । एक घर एक करेसाबारी कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइने भएको छ । फलफूल खेतीलाई प्रोत्साहित गर्न विरुवा अनुदान र बगैँचा सुदृणीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषिको पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले अनुदानको व्यवस्था मिलाउने भएको छ । नगरपालिका क्षेत्रको बाँझो जग्गामा खेती लगाउन प्रोत्साहन गरिने भएको छ । पशु विकास तर्फ भैँसी, बाख्रा, बंगुरपालन एवं पशु आहाराको पकेट क्षेत्र विकास गरिने भएको छ । पशु रोग नियन्त्रण शिविर वडा वडामा सञ्चालन गरिने भएको छ । कृषकले व्यहोर्नु पर्ने पशु बीमा शुल्क नगरपालिकाले अनुदानमा उपलब्ध गराउने भएको छ । गाई भैँसीमा सुत्केरी स्याहार प्रोत्साहन तथा दुधमा प्रतिलिटर दुई रुपैँया अनुदान दिने कार्यलाई नगरपालिकाले निरन्तरता दिने भएको छ । पशु पालन क्षेत्रको प्रवर्धनको लागि १ करोड ५० लाख रुपैँया छुट्याएको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । मन्थली स्थिति प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । दलित र एकल महिला तथा ख वर्गका अपांगता भएका नागरिकको स्वास्थ्य बीमाको ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने भएको छ ।