कोरोनाकै बीचमा गाउँमा पूजा र भोज, सरोकारवाला मूकदर्शक

  • प्रकाशित मिति: सोमबार, असार ७ २०७८
  • तामाकोशी

रामेछाप । कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि जिल्लामा अझै निषेधाज्ञा जारी छ । कोरोना सङक्रमणदर केही घटेको भन्दा निषेधाज्ञामा खुकुलो बनाइएको छ । तर जिल्लामा अझै दैनिक २० जना जनासम्म कोरोना सङ्क्रमण भैरहेको छ । निषेधाज्ञा खुकुलो बनाइएसँगै गाउँगाउँमा लापरबाही बढ्दै गएको छ ।
सर्वसाधारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नै नगरी बजार तथा सार्वजनिक स्थलमा हिंड्ने गरिरहेका छन् । त्यति मात्रै होइन सार्वजनिक स्थानमा ठूला ठूला भोज तथा पूजा समेत हुन लागेका छन् । विवाहका भोजका कारण जिल्लाको विभिन्न गाउँगाउँमा कोभिड सङ्क्रमण फैलिएको थियो । कोरोनाले भटाभट मानिसको ज्यान जान थालेपछि केही डराएका सर्वसाधारण सङ्क्रमण दर केही कम हुने वित्तिकै भोज भतेरमा लागेका छन् ।
कोरोना नियन्त्रण र कोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेको बेला जिल्लाको लिखुतामाकोशी गाउँपालिका–४ को कोटगाउँमा स्थानीयले देवी पूजा गरी सामूहिक भोज गरेका छन् । भोजमा सङ्ख्यामा साना बालक सहित स्थानीयको भेला भएका छन् । कोभिड महामारी र निषेधाज्ञाको बीचमा यस्तो पूजा र भोज हुँदा समेत न त स्थानीय सरकारले रोकेको छ, न स्थानीय प्रशासनले नै कुनै कारबाहीको प्रक्रिया सुरु गरेको छ । कोभिडकै बिचमा विभिन्न गाउँमा कुल पूजा अर्थात् देवाली पर्व मनाइएको थियो । गाउँभरिका तथा काठमाडौँ लगायत बाहिर बसेका मानिसहरु समेत गाउँमा आएर पूजा गर्दा गाउँमा कोरोनाका सङ्क्रमित बढेका थिए । जाने बुझेकै मानिसहरु प्रसाद खानमा मस्त र व्यस्त भएको भन्दै यस्तो कार्यले रोग नियन्त्रण गर्न निक्कै गाह्रो हुने नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताउनुभयो । केही दिन यतादेखि जिल्ला सदरमुकाम मन्थली लगायत बजार केन्द्रमा समेत स्वास्थ्य सुरक्षामा लापरबाही सुरु भएको छ । स्थानीय प्रशासनले बिहान ५ः०० बजेदेख मध्यान्ह १२ बजेसम्म पसलहरु खोल्न दिएसँगै बजारमा उपभोक्ताको भिड बढेको छ ।