सुनापति गाउँपालिका–२ दिमिपोखरीमा ५० टन क्षमताको चिस्यान केन्द्र

  • प्रकाशित मिति: बिहिबार, असार ३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका वडा नं २ दिमिपोखरीमा चिस्यान केन्द्र बन्दै छ । गाउँपालिमा उत्पादन हुँने आलु र किवी स्टोरका लागि ४४ लाख रुपियाँ लागतमा चिस्यान केन्द्र निर्माण भैरहेको छ । कृषि ज्ञान केन्द्र मन्थली रामेछापको २२ लाख रुपियाँ र सुनापति गाउँपालिकाको २२ लाख रुपियाँ गरी ४४ लाख रुपियाँ बजेटमा ५० टन भन्दा बढी क्षमताको चिस्यान केन्द्र निर्माण भैरहेको गाउँपालिकाका सब–इन्जिनियर सानोबाबु श्रेष्ठले बताउनुभयो । उपभोक्ता समिति मार्फत निर्माण भैरहेको चिस्यान केन्द्रको काम चालु आर्थिक वर्ष २०७७÷०७८ को असार २० गतेभित्र सम्पन्न हुने सब–इन्जिनियर श्रेष्ठले बताउनुभयो । विशेष गरी गाउँपालिकाको वडा नं २ दिमिपोखरीमा आलु र किवी उत्पादन धेरै हुने भएकाले यसलाई ध्यानमा राखेर किसानको माग बमोजिम चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष धावा लामाले बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि आवश्यक अध्ययन अनुशन्धान र किसानको माग बमोजिम विभिन्न स्थानमा पकेट क्षेत्र नै घोषणा गरी सोही अनुसार काम भैरहेको छ, किसानले उत्पादन गरेको कृषि उपजहरुको व्यवस्थापनका लागि चिस्यानकेन्द्र निर्माण, बजारको खोेजिदेखि अन्य कुराको व्यवस्थापनमा गाउँपालिका लागि रहेको छ अध्यक्ष लामाले भन्नुभयो । उहाँका अनुसार पाँच वटा वडा रहेको सुनापति गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि आलु, किवी, चिया उत्पादन लक्षित कार्यक्रमहरु सञ्चालन भैरहेको छ भने पशुपालन क्षेत्रको विकासका लागि बाख्रा पालन, माछा पालन, बङ्गुर पालन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले पालिकालाई दुधमा आत्मनिर्भर बनाउन किसानलाई भैंसी सुत्ेकरी भत्ताको व्यवस्था पनि गरेको छ । दिमिपोखरीमा निर्माणाधिन चिस्यान केन्द्र लगायत सुनापति गाउँपालिमा निर्माण भैरहेको विकास आयोजनाको जिल्ला समन्वय समितिको प्रमुख प्रेम बहादुर खड्का, समन्वय अधिकारी विवस आचार्य लगायतको टोलीले अनुगमन गरी आवश्यक निर्देशन दिनुभएको छ ।