रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले आगामी आर्थिक वर्षका लाति निति, कार्यक्रम तथा बजेट बनाउँदा निःशुल्क थप कक्षा सञ्चालन तथा विद्यार्थीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था सहित ६ बुँद्दे माग राखी जिल्लाका स्थानीय तहलाई ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले सोमबार जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बनाउँदा जिल्लाको शैक्षिक क्षेत्रमा सकरात्मक सुधारका लागि भन्दै ६ बुँद्दे विभिन्न मागहरु गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी रामेछापका संयोजक टंक घतानीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नीति, कार्यक्रम तथा बजेट बनाउँदा विद्यार्थीका लागि निःशुल्क थप कक्षा सञ्चालको व्यवस्था गर्न, महिनाको दुई पटक विद्यार्थीहरुको सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न, प्रत्येक शैक्षिक संस्थाबाट एसईई उत्तीर्ण उत्कृष्ट पाँच जना विद्यार्थीका लागि प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । यस्तै,एक विद्यालय एक पुस्तकलयको व्यवस्था गर्न,अपाङ्ग असहायमैत्री कक्षा सञ्चालनको व्यवस्था गर्न, व्यवसायिक तथा प्राविधिक शिक्षा मा.वि तहदेखि सवै विद्यालयहरुमा आवश्यक नीति निर्माण गरी तत्काल लागु गर्न र साना व्यवसाय सञ्चालनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन जिल्लाका सवै स्थानीय तहको ध्यानाकर्षण गराइको छ ।
