रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । माओवादी केन्द्रले आइतबार कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापन र स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षाका लागि जिल्लामा पहिलो पटक विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
सानो ठूलो गरी २५ थान अक्सिजन सिलिन्डर, ३७ हजार थान मेडिकल मास्क, १३० थान पिपिई सेट, दुई सय थान एन–९५ मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री विघटित प्रतिनिधिसभाका सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले डिसीसीएमसीका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई हस्तान्तरण गर्नुभएको हो । जिल्लामा रहेका कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापन र अग्रभागमा रहेर कोरोना विरुद्धको लडाइमा ररहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वास्थ्य सामाग्री प्रदान गरिएको नेता श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा अहिलेसम्म एक हजार ७९८ जनामा कोरोना पुष्टि हुँदा १६ जनाको ज्यान गएको छ भने एक हजार ५१४ जना कोरोनामुक्त भएका छन् । अहिले जिल्लाभर २६८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।