रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । जिल्लाको सुनापति गाउँपालिकामा एक पुरुष र रामेछाप नगरपालिकामा एक महिलाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार सुनापति गाउँपालिका वडा नं २ का ४७ वर्षका पुरुषको सोमबार र रामेछाप नगरपालिका वडा ३ की ६१ वर्षीया महिलाको ओम हस्पिटलमा उपचारका क्रममा आइतबार ज्यान गएको हो । सुनापति गाउँपालिकाका पुरुष कोरोना सङ्क्रमणपछि होम आइसोलसनमा बसिरहेका थिए भने रामेछाप नगरपालिकाकी महिलाको जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा उपचार गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि ओम हस्पिटलमा आइतबार मात्रै रिफर गरिएको थियो । यस्तै, जिल्लामा सोमबार २७ जना कोरोनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार सोमबार जिल्ला अस्पतालमा सात जना, दोरम्बा गाउँपालिकामा आठ जना, लिखुतामाकोशी गाउँपालिकामा चार जना, सुनापति गाउँपालिकामा पाँच जना र तामाकोशी अस्पतालमा चार जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या ५७७ जना पुगेको छ । जिल्लामा वैशाख ३ गते यता एक हजार ६२५ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार कोरोनामुक्त हुने २८ जना सहित एक हजार ३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् । अहिलेसम्म सङ्क्रमणपछि स्वास्थ्यमा समस्या आएका १६ जनालाई काठमाडौं लगायतका विभिन्न ठाउँका अस्पतालमा रिफर गरिएको छ ।
रामेछापमा कोरोनाबाट थप दुई जनाको ज्यान गयो, २८ जना कोरोनामुक्त
- प्रकाशित मिति: सोमबार, जेष्ठ २४ २०७८
- तामाकोशी