काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेर पुरानो पार्टी कमिटी व्यूताउन तयार रहेको बताएपछि माधव नेपाल समूहका धेरै नेताहरु द्धिविधामा परेका छन् ।
आइतबार साँझ पार्टी अध्यक्षको तर्फबाट वक्तब्य जारी गर्दै प्रधानमन्त्री ओलीले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने जनाउदै सो प्रस्ताव गरेपछि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा नजुट्दै फरक फरक धारणा आउन थालेको हो । उनीहरुबीच केही नेतामा समान धारणा र केही नेताहरु द्धिविधामा रहेको पाइएको छ ।
पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् । तर घनश्याम भूषाल लगायतका नेताहरुले भने त्यसमा आफ्नो नैतिकता जोडिएको भन्दै आनाकानी गरिरहेको स्रोतको दावी छ ।
उनको समूहभित्र रहेका गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले भने यसलाई उपयोग गरेर जानुपर्ने नीति लिएको बताइन्छ । पाण्डे भने मौन रहेका छन् । उनीहरुबीच हिजो राती सुरेन्द्रको घरमा छलफल भएको थियो ।
आन्तरिक विद्रोहको तयारीमा रहेका खनाल–नेपाल समूहले आइतबार दिउसो विज्ञप्ति निकाले ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए । त्यसको लगत्तै साँझ ओलीले पार्टी एकताका लागि ६ बुँदाको वक्तब्य जारी गरेका हुन् । ‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।
सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ, यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही नगरिने पूर्वाग्रह नराखिने छैन’, ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले पार्टीभित्र कुनैपनि प्रकारको भेदभाव नगरिने उनले बताएका छन् । ‘नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ’ उनले भनेका छन् ।
ओलीको सो वक्तब्यपछि नेपाल समूहका नेता योगेश भट्टराईले सकारात्मक कदम भएको टिप्पणी गरेका छन् । उनले कार्यदलले काम गर्ने बाटो खुलेको भन्दै शीर्ष नेतृत्वमा संवाद हुने अपेक्षा समेत गरेका छन् । ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ, नेपालबहसमा खबर छ ।