रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । खाँडादेवी गाउँपालिका वडा नं ४ की ९० वर्षिया महिलाको शनिबार बिहान ६ः३० बजे ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाएकी महिला जेठ २१ गते बिहीबार एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएको थियो । यस्तै, जिल्लामा शनिबार ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार शनिबार जिल्ला अस्पतालमा ६ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा दुई जना, रामेछाप नगरपालिकामा चार जना, उमाकुण्ड गाउँपालिकामा चार जना, खाँडादेवी गाउँपालिकामा पाँच जना, गोकुलगङ्गा गाउँपालिकामा दुई जना, दोरम्बा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा दुई जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा चार जना र दोरम्बा गाउँपालिकामा ४४ जनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार ५८१ जना पुगेको छ । जिल्लामा शनिबार थप २१ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या एक हजार सात जना पुगेको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ११ जनाको ज्यान गएको र १६ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट पठाइएका १५ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा कोरोनाबाट आज थप एक जनाको ज्यान गयो, ७४ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: शनिबार, जेष्ठ २२ २०७८
- तामाकोशी