रामेछापमा आज थप ८० जनामा कोरोना सङ्क्रमण, ३९ जना कोरोनामुक्त

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २० २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा बिहीबार ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४४३ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार विहीबार जिल्ला अस्पतालमा आठ जना, रामेछाप नगरपालिकामा ४० जना, खाँडादेवी गाउँपालिकामा १२ जना, गोकुलगङ्गा गाउँपालिकामा दुईजना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतालमा पाँच जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै, दोरम्बा गाउँपालिकामा ११ जनामा पीसिआर परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार चार सय ९ जना पुगेको छ । जिल्लामा बिहीबार ३९ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ९५६ जना पुगेका छन् । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट १० जनाको ज्यान गएको छ भने १६ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट पठाइएका २५३ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।