रामेछापमा आज थप ५२ जनामा कोरोना सङ्क्रमण,४५ जना कोरोनामुक्त

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १९ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा बुधबार ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार बुधबार जिल्ला अस्पतालमा दुई जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा एक जना, रामेछाप नगरपालिकामा १७ जना, खाँडादेवी गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ३१ जनामा पीसिआर परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार तीन सय २९ जना पुगेको छ । जिल्लामा बुधबार ४५ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ९१७ जना पुगेका छन् । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट १० जनाको ज्यान गएको छ भने १६ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका ११८ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।