रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणबाट मङ्गलबार थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित मन्थली नगरपालिका वडा नं १ का ५५ वर्षिय पुरुषको जिल्ला अस्पताल रामेछापमा उपचारका क्रममा मङ्गलबार बिहान ८ः१५ बजे ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार कोरोनाबाट ज्यान गुमाएका पुरुषमा जिल्ला अस्पताल रामेछापमा गरिएको अन्टिजेन परीक्षणबाट जेठ १५ गते कोरोना सङ्क्रमण भएको थियो । मृतक पुरुषको कोरोना सङ्क्रमण पुष्टि भएदेखिनै जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थियो । जिल्लामा मङ्गलबार एक सय १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३९५ पुगेको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार मङ्गलबार जिल्ला अस्पतालमा तीन जना, गोकुलगङ्गा गाउँपालिकामा तीन जना, सुनापति गाउँपालिकामा आठ जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतालमा चार जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै सुनापति गाउँपालिकामा मङ्गलबार एकैदिन ९८ जनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार दुई सय ७७ जना पुगेको छ । जिल्लामा मङ्गलबार थप ९४ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ८७२ जना पुगेको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट १० जनाको ज्यान गएको र १५ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका ११८ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।
रामेछापमा कोरोनाबाट आज थप एक जनाको ज्यान गयो, ११८ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १८ २०७८
- तामाकोशी