रामेछापमा कोरोनाबाट थप दुई जनाको ज्यान गयो, ५५ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा कोरोना सङ्क्रमणबाट सोमबार थप दुई जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित मन्थली नगरपालिका वडा नं २ का ३५ वर्षका पुरुषको बिर अस्पता काठमाडौंमा र उमाकुण्ड गाउँपालिका वडा नं ४ का ६८ वर्षका पुरुषको तामाकोशी अस्पताल मन्थलीमा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार कोरोनाबाट ज्यान गुमाएका मन्थली नगरपालिका वडा नं २ का पुरुषको जेठ ८ गतेदेखि बिर अस्पताल काठमाडौं र उमाकुण्ड गाउँपालिका वडा नं ४ का पुरुषको जेठ १० गतेदेखि तामाकोशी अस्पतालमा उपचार भैरहेको थियो । मन्थली नगरपालिका वडा नं २ का पुरुषमा जेठ २ गते र उमाकुण्ड गाउँपालिका वडा नं ४ का पुरुषमा जेठ १० गते कोरोना सङ्क्रमण भएको थियो । जिल्लामा सोमबार ५५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७२ पुगेको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार सोमबार जिल्ला अस्पतालमा एक जना, रामेछाप नगरपालिकामा चार जना, खाँडादेवी गाउँपालिकामा एक जना, सुनापति गाउँपालिकामा २१ जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतालमा पाँच जनामा एन्टिजेन्ट परीक्षणबाट कोरोना पुष्टि भएको छ । यस्तै रामेछाप नगरपालिकामा सात जना , उमाकुण्ड गाउँपालिकामा सात जना र दोरम्बा शैलुङ गाउँपालिकामा सातजनामा पीसिआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै वैशाख ३ गते यता रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या एक हजार एक सय ५९ जना पुगेको छ । जिल्लामा सोमबार थप १३ जना कोरोनामुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ७७८ जना पुगेको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको ज्यान गएको र १५ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट पठाइएका १३२ जनाको स्वाव परीक्षण रिपोर्ट आउन बाँकी छ ।