रामेछाप । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा सहित विभिन्न उपायहरु अवलम्बन भैरहेको यो बेलामा स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नेहरु पनि बढीरहेका छन् । जिल्लामा आइसीयू वेड स्थापना गर्नेदेखि अक्सिजन सिलिन्डर सहयोग गर्नेहरु पनि बढीरहेका छन् । राजनीतिक दल, नेता र विभिन्न सङ्घ संस्थाहरुले समेत विभिन्न स्वास्थ्य सामाग्री हन्तान्तरण गरिरहेका छन् । सङ्क्रामक रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि सहयोग गर्नु राम्रो भएपनि स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सामाग्री गुणस्तरीय छ कि छैन भन्ने चेकजाँच भने जिल्लामा हुने गरेका छैन् ।तर जिल्लामा सहयोगी दाताहरुले दिएका स्वास्थ्य सामाग्रीहरु कुनै चेकजाँच बिनै ग्रहण गर्ने गरिएको छ । जिल्लामा अहिले अक्सिजन, अक्सिमिटर, एन्टिजेन्ट किट, सेनिटाइजर, मास्क, पिपिइई, औषधी लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने क्रम बढ्दो छ । पछिल्लो समय स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बढेसँगै स्वास्थ्य सामाग्रीको गुणस्तर चेकजाँच गरेर मात्र ग्रहण गर्न स्वास्थ्य कार्यालयले जिल्लाभित्रका अस्पताल र आठवटै स्थानीय तहलाई पत्राचार गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले स्वास्थ्य सामाग्री हन्तान्तरण कार्यक्रममा पनि सीमित व्यक्तिहरु मात्र सहभागी हुन आग्रह गर्नुभएको छ । जिल्लाभित्र कोरोना सङ्क्रमण दर बढीरहेको छ, सहयोगको अतिनै आवश्यक पनि छ, तर सहयोग हस्तान्तरण गर्दा सकेसम्म थोरै व्यक्तिहरुको मात्र सहभागीता होसर प्रमुख कर्णले भन्नुभयो । स्वास्थ्य कार्यालयले स्थानीय तहलाई गरिएको पत्राचारमा कोरोना महामारी निदानुदिन बढ्दै गएको विषम परिस्थितिमा विभिन्न दातृ निकाय सहयोगी सङ्घ संस्था र व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्रीहरु सरकारबाट सुचिकृत तथा अनुमति प्राप्त भए नभएको सुनिश्चित गरी मात्र स्वीकार तथा प्रयोग गर्न अनुरोध छ भनिएको छ । स्वास्थ्य सामाग्रीहरु मापदण्ड विपरीत भएको अवस्थामा नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । जिल्लाका विभिन्न मेडिकलहरुमा अवैध सेनिटाइज र मापदण्ड विपरीतका मास्कको विक्रिवितरण हुँदै आएको पाइएको छ । केही दिनअघि मात्र सदरमुकाम मन्थलीमा अवैध रुपमा विक्रि गरिदै आएको सेनिटाइजर प्रहरीले बरामत गरेर नष्ट गरेको थियो ।
स्वास्थ्य सामाग्री चेकजाँच गरेर मात्र स्वीकार गर्न स्वास्थ्य कार्यालयको आग्रह
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४ २०७८
- तामाकोशी