रामेछापमा थप २८ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १०५३ पुग्यो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमुना स्वाव सङ्कलन गरी पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा सुनापति गाउँपालिकाका २२ जनामा र एन्टिजेट विधिबाट स्वाव परीक्षण गर्दा तामाकोशी अस्तालमा तीन जना, लिखु तामाकोशी गाउँपालिकामा दुई जना र प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

योसँग जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ५३ पुगेको छ । यो वैशाख ३ गतेदेखि यताको माात्रै हो । त्यस मध्ये ५०३ जना होम आइसोलेसनमा, ४६ जना संस्थागत आइसोलेसनमा र दुई जना आइसियूमा गरी जम्मा ५५१ जना कोरोनाका सक्रीय सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४८७ जना कोरोनामुक्त भएका छन् । आज एक जना पनि कोरोनामुक्त भएका छैनन् ।



हालसम्म कोरोना सङ्क्रमित ६ जनाको निधन भएको छ । जिल्लामै परीक्षण गर्दा कोरोना पुष्टि भएका ९ जनालाई रिफर गरिएको छ । अब १०४ जनाको पीसिआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।