रामेछाप, जेष्ठ, १० गते । रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना हुने निश्चित भएको छ । अस्पतालको लागि संघीय सरकारले सहमतीसहित बजेटको सुनिश्चितता गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने पक्का भएको हो ।
अर्थमन्त्रालयले आज मन्त्री स्तरको निर्णय गरी ती अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर मेशिनको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको हो । जिल्ला अस्पताल रामेछाप, जिल्ला अस्पताल चौतारा, दैलेख, धनकुटा, जलेश्वर, इलाम, चौरझारी अस्पताल रुकुम पश्चिम र टिकापुर अस्पताल कैलालीलाई अक्सिजन ट्याङ्कर खरिद र जडानको लागि ७ करोड ५० लाख रुपैँया खर्च गर्ने सहमति अर्थमन्त्रालयले दिएको छ ।
यसअघि जिल्ला अस्पतालले बागमती प्रदेश सरकार र संघिय सरकारलाई अक्सिजन प्लान्टको लागि माग गर्ने निर्णय गरेको थियो । संघीय सरकारको अर्थ मन्त्रालयले ७५ लाख बजेट सुनिश्चित गरेसँगै प्लान्ट निर्माणको काम अगाडि बढने भएको हो ।
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिदको लागि अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिन, नेकपा एमालेका नेता रत्त प्रसाद गौतम, एमाले जिल्ला सचिव पुरुषोत्तम कडरिया लगायतले निरन्तर पहल गरेका थिए ।
