दोलखामा आज थप ६२ जनामा कोरोना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ८ २०७८
  • तामाकोशी

दोलखा । दोलखामा शनिबार थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पिसिआर ल्याबमा १ सय ९२ जनाको स्वाब परिक्षण गर्दा ६२ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ७ सय ८३ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कोभिड-१९ को सङ्क्रमणबाट दोलखामा सङ्क्रमण हुने र निको हुने दर दुवै बढिरहेको छ । दुई नगरपालिका सहित सात गाउँपालिका गरि ९ स्थानीय तह रहेको दोलखामा केहि दिन यता संक्रमण हुने र निको हुने दर दुवै बढिरहेको हो । जिल्लामा शुक्रबार मात्रै ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एकै दिन ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । शुक्रबार विगु गाउँपालिकाका २ पुरुष र २ महिला गरि ४ जना, भीमेश्वर नगरपालिकाका ९ पुरुष र ८ महिला गरि १७ जना, कालिन्चोक गाउँपालिकाका ५ पुरुष र १ महिला गरि ६ जना, गौरिशंकर गाउँपालिकाका ९ पुरुष, तामाकोशी गाउँपालिकाका १ पुरुष कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।शुक्रबार एकै दिन ३७ जना निको भएसंगै कोरोनामुक्त हुनेको संख्या जिल्लामा ८९ पुरुष र ५२ महिला गरि १ सय ४१ जना पुगेको छ ।