निषेधाज्ञा अवधिमा २६ सय भन्दा बढी मानिस रामेछाप भित्रिए

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ६ २०७८
  • तामाकोशी

रामेछाप। जिल्लामा अहिलेसम्म तीन जना कोरोना सङ्क्रमिते ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या पनि दैनिक रुपमा बढीरहेको छ । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को नियन्त्रणका लागि अहिले जिल्लाभर निषेधाज्ञा छ । जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाको समयमा सम्बन्धित गाउँपालिका र वडा कार्यालयले होम आइसोलेसनमा राख्ने जिम्मेवारी सहितको सिफारिसमा नाकाबाट प्रवेश गर्न दिने निणर्य गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको निणर्य अनुसार अहिले दैनिक रुपमा नागरिकहरु जिल्ला भित्रिरहेका छन् । वैशाख २१ गते राति १२ः०० बजेदेखि जेठ ५ गते राति १२ः०० बजेसम्मको निषेधाज्ञा अवधिमा २६ सय ६८ जना मानिस जिल्ला भित्रिएको प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङकर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार यो अवधिमा मन्थली नगरपालिका स्थित सेलेघाट नाकाबाट सवैभन्दा बढी मानिस जिल्ला भित्रिएका छन् । सम्बन्धित गाउँपालिका र वडा कार्यालयले होम आइसोलेसनमा राख्ने जिम्मेवारी लिएको सिफारिसका आधारमा नागरिकहरुलाई जिल्ला प्रवेश गर्न दिने गरिएको उहाँको भनाई छ । स्वास्थ्य शाखाँगको आवश्यक समन्वयमा जिल्ला भित्रिएका नागरिकहरुको सम्बन्धित वडाहरुले व्यवस्थापन गरिरहेको मन्थली नगरपालिका स्वास्थ्य शाखा संयोजक केशव फुयालले बताउनुभयो । उहाँका अनुसार सिफारिसका आधारमा घर आएका नागरिकहरु छुट्टै कोठा, छुट्टै सौचलाय भएको व्यवस्थित होम आइसोलेसनमा १४ दिन अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य संयोजक फुयालले मन्थली नगरपालिकाले अहिले कोरोना सङ्क्रमण भै स्वास्थ्यमा बढी समस्या आएका नागरिकको उपचारका लागि अस्पतालसम्म ल्याउने र लैजाने निशुल्क व्यवस्था गरेको बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा रहेको कोभिड अस्पतालमा उपचार सम्भव हुने सवै कोरोना सङ्क्रमित बिरामीहरुको निशुल्क औषध उपचारको व्यवस्था गरिएको उहाँको भनाई छ ।