रामेछाप । विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ लाई मध्येनजर गरी रामेछाप उद्योग वाणिज्य संघले पनि सङ्क्रमित व्यवसायीहरुको उपचारका लागि आइसोलेसन कक्ष बनाउने भएको छ । सोमबार बसेको संघको बैठकले कोरोना भाइसबाट जिल्लाका व्यवसयीहरु पनि सङ्क्रमित हुन सक्ने भन्दै अक्सिजन सहितको छ बेडको आइसोलेशन कक्ष बनाउने निणर्य गरेको हो । निषेधाज्ञाको समयमा उपभोक्ताहरुलाई खाद्यन्न लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन अग्र भागमा रहेर खट्ने उद्योगी तथा व्यवसायीहरु सङ्क्रमणको उच्च जोखिममा रहेकाले आउनसक्ने जोखिमतालाई ध्यानमा राखेर अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गर्ने निणर्य गरिएको संघका सचिव सुरेश उदाशले बताउनुभयो । उहाँका अनुसार आइसोलेननमा बस्ने सङुक्रमितहरुको खानपिन तथा औषध उपचारको व्यवस्थापन पनि संघले नै गर्ने छ । रामेछाप जिल्लाभर रहेर विभिन्न उद्योग तथा व्यवसाय संचालन गर्ने एक हजार ४ सय उद्योगी एवं व्यवसायीहरु रामेछाप उद्योग वाणिज्य संघमा आवद्ध छन् । रामेछापमा सोमबार एकैदिन १४५ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । सोमबार सुनापति गाउँपालिकामा २० जना, दोरम्बा गाउँपालिकामा २८ जना र रामेछाप र मन्थली नगरपालिकाका ९७ जना सङ्क्रमित थपिएका छन् । योसँगै वैशाख ३ गते यता रामेछापमा ४८५ जनामा कोरोना सङ्क्रमण भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघले अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने
- प्रकाशित मिति: सोमबार, जेष्ठ ३ २०७८
- तामाकोशी