सोलुखुम्बु । पर्यटकीय क्षेत्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । विमानस्थलको माथिल्लो घेराबारसहितको क्षेत्रमा पहिरो जाँदा विमानस्थल नै जोखिममा परेको हो । माथिल्लो भागको घेराबार भत्किएसँगै विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ । माथिबाट खसेको पहिरो टर्मिनल भवनमा पर्दा भवनको झ्याल तथा सिसा फुटेको नेपाल नागरिक उड्यन प्राधिकरण फाप्लुका प्रमुख रमेश महतले बताउनुभयो । विमानस्थलबाट माथिल्लो भागमा लगाइएको ग्याभिङ वालसमेत लच्किँदा जोखिम उच्च भएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । भत्किएको क्षेत्रलाई तत्काल मर्मत नगर्ने हो भने बर्खामा उडान हुन नसक्ने भन्दै गएको वैशाख ११ गते प्राधिकरणलाई लिखित तथा मौखिक रुपमा समेत जानकारी गराइसकेको प्रमुख महतले बताउनुभयो । यस्तै नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । नागरकिलाई सेवा दिन राज्यकोषको लगानीबाट निर्मित विमानस्थल भत्किनु ठेकेदारको कमजोरी भएको उहाँको भनाइ छ । नेपाल नागरिक उड्यन प्राधिकरण सिभिल इन्जिनियरिङ विभागका निर्देशक प्रदीप अधिकारीले अघिल्लो वर्ष निर्माण गरिएको दुवै क्षेत्र भत्किएको भन्ने जानकारी भएकाले त्यस विषयमा छानबिन हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले विमानस्थलको घेराबार भत्किएको देखिएकाले तत्काल नागरिक उड्डयन प्राधिकरण फाप्लुलाई आवश्यक कदम चाल्न निर्देशन दिइको भन्दै राज्यको सम्पत्तिमा लापर्बाही गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।
सोलुखुम्बुको फाप्लु विमानस्थल जोखिममा
- प्रकाशित मिति: सोमबार, जेष्ठ ३ २०७८
- तामाकोशी