वागमती प्रदेश सरकारले निर्माण गरेका १२ वटा पुलको एकसाथ उद्घाटन

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ३ २०७८
  • तामाकोशी

रामेछाप । वागमती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको सोमवार उद्घाटन गरिएको छ । गएको आर्थिक वर्षदेखि निर्माण सुरु भइ वैशाख मसान्तसम्म निर्माण सकिएका काठमाण्डौको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताउनुभयो । उहाँले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सकिने जानकारी दिनुभयो । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो ।