लिखुतामाकोशी-२ सैपुमा १० बेडको आइसोलेशन निर्माणः संक्रमितको संख्या १० पुग्यो

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २ २०७८
  • तामाकोशी

रामेछाप, जेष्ठ २ गते । लिखुतामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १० पुगेको छ । दोलखा चरिकोटमा पिसिआर टेष्ट गरेका मध्ये हाइड्रोमा काम गर्ने कामदारहरु बढी संक्रमित देखिएका छन् ।

हाइड्रोमा काम गर्ने कामदारहरुमा कोरोना भाइरस संक्रमित पुष्टि भए पछि स्थानीय समुदायमा पनि फैलिन सक्ने भन्दै आफुहरु सचेत रहेको वडाअध्यक्ष पदमबहादुर तामाङले तामाकोशी अनलाइनलाई जानकारी दिनुभयो ।



उहाँले भन्नु भयो “हाइड्रोमा काम गर्ने कामदारहरुमा कोरोना भाइरस संक्रमित देखियो, ३ जना स्थानीय बासी पनि रहेका छन्, त्यसैले वडाभित्र झनै जोखिम बढेको कारण सरोकारवालालाई खबर गरिसकेकोछु अबको एक हप्ताभित्र पिसिआर टेष्टको व्यवस्था हुने जिल्लाबाट जानकारी आएको छ ।”

आफुले गाउँपालिकामा बारम्बार जानकारी गराउदा समेत त्यसको सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । “भोली कार्यपालिकाको बैठक हुने जानकारीमा आएको छ, म सो बैठकमा यो महामारीमा विषयमा जोडदार माग गर्नेछु” उहाँले भन्नुभयो ।

आइतबार मात्र सैपु स्थित अरुणोदय माध्यमिक विद्यालयको भवनमा १० बेडको आइसोलेशन निर्माण गरी सात जना संक्रमितको व्यवस्थापन गरिएको छ । बाँकी ३ जना सक्रमित आफ्नै घरको एकान्तबासमा आराम गरिरहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

जिल्लाको यस्तो गाउँपालिका हो जहाँ, अहिले सम्म कुनै स्वास्थ्य कार्यालयमा डाक्टरसहितको सेवा दिन सकिरहेको छैन भने जनप्रतिनिधीहरुको एक आपसी झगडाले आवश्यक कर्मचारी ब्यवस्थापन अन्यौलमा रहेको छ ।