रामेछाप । बिहीबार उदयपुरमा थप ३५ जनामा कोेरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाबाट ७० जनाको नमुना स्वाव परीक्षण गर्दा २१ पुरुष र १४ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अहिलेसम्म ५८९ जनाको नमुना स्वाव परीक्षण गर्दा जम्मा ३१७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुइटेलले बताउनुभयो । पछिल्लो २४ घण्टामा २ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या ६ पुगेको छ । ३११ जना कोरोनाका सक्रीय सङ्क्रमितको संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा उपचार भइरहेको उहाँले बताउनुभयो । अब १६ जनाको स्वाव रिपोर्ट आउन बाँकी छ । यसैबीच, सोलुखुम्बुमा थप ३० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । ११९ जनाको नमुना स्वाव सङ्कलन गरी पिसिआर विधिबाट कोरोना पत्ता लगाउन परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । योसँगै जिल्लामा कोरोनका सक्रीय सङ्क्रमितको सङ्ख्या १४९ पुगेको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोभिड सूचना अधिकारी रामकुमार विश्वकर्माका अनुसार कोरोना सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।
आज उदयपुरमा ३५ जना र सोलुखुम्बुमा ३० जनामा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: बिहिबार, बैशाख ३० २०७८
- तामाकोशी